धन्यबाद ज्ञापन

धन्यबाद ज्ञापन

आदरणीय कोलोराडोबासी दाजुभाइ तथा दिदीबहिनीहरु,

भर्खरै तपाईं हामीहरुले श्रीमद्भागवत महापुराण सप्ताह (कोलोराडो सप्ताह २०१८) लाई भब्य रुपमा सफल पारेर सम्पूर्ण नेपाली भाषी र नेपाली मनहरुलाई एकताको सूत्रमा बाँध्दै कोलोराडोमा एउटा बहुउद्देशीय नेपाली सामुदायिक केन्द्र बनाउने अभियानमा एउटा महत्वपूर्ण छलांग मार्न सफल भएका छौं।  यो सफलताले हामी सबैको मन मस्तिस्कमा एक किसिमको ऊर्जा थपेको छ, जोस र जाँगर ल्याएको छ, नेपालीपन र नेपाली मनलाई हृदयदेखि नै जोडेको छ अनि तपाईं हामी सबै मिलेर भबिस्यमा पनि यस्ता थुप्रै कार्यक्रमहरु सफल गर्नेछौं र नेपाली भाषा र संस्कृतिलाई जोगाउन एउटा सामुदायिक केन्द्र बनाउन चाँडै सफल हुनेछौं भन्ने उत्साह थपेको छ।

नेपाली घरको संयोजनमा कोलोराडोमा रहेका संपूर्ण सामाजिक संघसंस्था, बुद्धिजिवी र जन समुदायको संयुक्त आयोजकत्वमा सञ्चालन गरिएको यस सप्ताह कार्यक्रममा आफ्नो काम र ब्यस्तताको बाबजूद पनि समय निकालेर सहभागी भै आफ्नो गच्छे अनुसार दान गरेर पुण्य प्राप्त गर्नुका साथै हामीहरुको आफ्नै सामुदायिक घर बनाउने अभियानमा कोलोराडो भित्र र कोलोराडोभन्दा बाहिरबाट पनि सहयोग गर्नुहुने तपाइँ सम्पूर्ण भक्तजन तथा दानबीरहरुमा संयोजक संस्थाको तर्फबाट हार्दिक आभार ब्यक्त गर्न चाहन्छु।  तपाइँहरुले गर्नुभएको अमूल्य दानको एक एक पेन्नीको हाम्रो सामुदायिक भवन निर्माण गर्नको लागि सदुपयोग हुनेछ र त्यसको सम्पूर्ण हिसाब किताब पारदर्शी रहनेछ।

यसरी एउटा साझा उद्देश्य प्राप्तिको लागि आयोजकको रुपमा सम्पूर्ण संघसंस्थालाई एकजुट पारी यो सप्ताह कार्यक्रम सफल पार्न अग्रणी भूमिका निर्बाह गर्नुहुने अध्यक्ष परिषदका सम्पूर्ण बिशिस्ट महानुभावहरुमा हार्दिक नमन गर्न चाहन्छु र सम्पूर्ण संघ संस्थाका पदाधिकारी साथीहरुमा बधाई एबं धन्यवाद दिन चाहन्छु। समुदायको हितको लागि हाम्रो यो ऐक्यबध्दता निरन्तर रहनेछ र रहनुपर्छ ।

कार्यक्रमको मुख्य खम्बाको रुपमा रहनुभएका वाचन प्रबिण पण्डित दीनबन्धु पोखरेल गुरुज्यूले अध्यात्म र बिज्ञानको फ्यूज़नबाट बर्तमान परिप्रेक्ष्यमा लागु हुने भागवत कथा वाचन गरी ज्ञानको सागर बगाई हामी समस्त भक्तजनलाई लाभान्वित गराउनु भएकोमा कोटि कोटि धन्यवाद दिन चाहन्छु। यसको साथै सप्ताह अवधिभर बिहान सबेरैदेखि दैनिक पूजापाठ, नियमित वाचन र धार्मिक अनुष्ठान गराउनुहुने अन्य पुरोहित गुरुज्यूहरु तथा दिनरात खटिएर पूजा स्थल, पूजा सामाग्री, महाआरती, फूलमाला र प्रसादको ब्यवस्था मिलाउनुहुने सम्पूर्ण पूजा समिति र आमा तथा दिदीबहनीहरुलाई पनि हार्दिक धन्यवाद छ।

कार्यक्रमको मेरुदण्डको रुपमा रहेर कार्यक्रमलाई सञ्चालन गरी त्यसलाई जिवन्तता दिनुहुने सम्पूर्ण उद्घोषक तथा उद्घोषिका (एम.सी.) महानुभावहरु, स्वर र संगीतको माध्यमबाट कार्यक्रममा ऊर्जा थपेर सबैलाई नचाउदै कार्यक्रमलाई रोचक र जीवन्त राख्न सहयोग पुर्याउनुहुने सम्पूर्ण कलाकार साथीहरु र भजन मंडलीका साथीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

कार्यक्रमको live प्रसारण गर्नुका साथै समयानुकुल न्यूज़हरु अपडेट गरेर निरन्तर सहयोग पुर्याउनुहुने पत्रकार, फोटोग्राफर, प्रचार प्रसार बिभाग र मिडियाका साथीहरुलाई साधुबाद छ। त्यस्तै गरी दिनरात खाना ब्यवस्थापनको लागि खटिएर सम्पूर्ण भक्तजनहरुको मन जित्नुहुने खाना-प्रबन्ध बिभागका सम्पूर्ण साथीहरु, स्वःस्फूर्त रुपमा घर घरबाट खाना ल्याएर सहयोग गर्नुहुने महानुभावहरु र आ-आफ्नो रेस्टूरेंटबाट निःशुल्क खाना स्पोंसर गर्नुहुने दानी मनहरुमा लाखौं लाख धन्यवाद दिन चाहन्छु।

भक्तजनहरुबाट चढ़ाईएको भेटी र दाताहरुबाट दिईएको दानको दुरुस्त हिसाबकिताब राख्ने काममा सातै दिनसम्म दत्तचित्त भएर लाग्नुको साथै हरेक बेलुकी अबेरसम्म खटिनुहुने स्वयंसेवक र आर्थिक समितिका साथीहरु सबैलाई हार्दिक धन्यवाद।

बिगत केहि महिनादेखि यस सप्ताह अवधिभर निमन्त्रणा कार्ड छाप्ने र बितरण गर्ने कामदेखि लिएर कलश अनि पूजा सामाग्री जुटाउने, खादा तथा दोसल्लाहरुको ब्यवस्था गर्ने, पोस्टर तथा ब्यानरहरु तयार गर्ने, कार्यक्रम स्थल साजसज्जा गर्ने, मण्डप तयार पार्ने, अथिति र गुरुज्यूहरुको सत्कार, खानपीन, बसोबास र यातायात ब्यवस्था गर्ने, भक्तजनलाई प्रसादको ब्यवस्था मिलाउने, म्यूजिक र साउण्ड सिस्टमको प्रबन्ध मिलाउने, फ्रण्ट डेस्क सम्हालने, जनसम्पर्क बढाउने, भक्तजनलाई बस्ने ब्यवस्था मिलाउने, सरसफाई गर्ने जस्ता सयौं थरीका कामका लागि दिनरात खटिनुहुने सम्पूर्ण स्वयंसेवक मित्रहरुलाई मुरी मुरी धन्यवाद।

हामीलाई पूजास्थल उपलब्ध गराएकोमा भिजेज एक्सचेंज सेण्टर, अरोरा (Village Exchange Center, Aurora) र यसको लागि समन्व गर्ने ग्लोबल भुटानीज़ कम्युनिटी अफ कोलोराडो (GBCC) का साथीहरु अनि सप्ताह अवधिभर सुरक्षा प्रदान गर्ने अरोरा पुलिस डिपार्टमेंट (Aurora Police Department) लाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु।

र, अन्त्यमा कुनै पनि कार्यक्रम सम्पन्न गर्न त्यति सजिलो छैन जति हामीले सोच्दछौं। यस सप्ताह कार्यक्रमको लागि पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हाम्रा थुप्रै दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो काम र ब्यवसायबाट छुट्टी मिलाएर समेत धेरै भन्दा धेरै समय दिनुभएको छ, उहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, यो कार्यक्रम हाम्रो महान अभियानको एउटा सुरुवात हो र भबिष्यमा हुने कार्यक्रममा पनि यहाँहरु सबैको यस्तै किसिमको सहयोगको अपेक्षा गर्दै हाम्रो एउटा साझा सामुदायिक केन्द्र बनाउने काममा जुट्नको लागि यहाँहरु सबैलाई हार्दिक अनुरोध  गर्दछु।

धन्याबाद!

लछुमन राना, अध्यक्ष एवं समस्त नेपाली घर परिवार  ।  मे ६, २०१८